नेपाली संसदीय प्रतिनिधि मण्डलद्वारा च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुखसँग भेट

नेपाली संसदीय प्रतिनिधि मण्डलद्वारा च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुखसँग भेट

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेपाली संसदीय प्रतिनिधि मण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेट गरेको छ ।

नेपाली प्रतिनिधि मण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङ सिटीमा रहेको जनकंग्रेस भवनमा भेट गरेको हो । भेटमा द्विपक्षीय हित, आपसी सम्बन्धी विस्तार लगायतका विषयमा कुराकानी भएको छ ।

नेता पाण्डेले नेपाल र चीनबीच सदियौंदेखिको सम्बन्ध रहेको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपाली प्रधानमन्त्रीको चीन भ्रमणले जनस्तरमा सम्बन्ध विस्तार भएको बताए । उनले छोटो समयमा नै चीनले द्रुत विकासको मार्ग पहिल्याएको बताउँदै नेपाललका तीनवटै सरकारले विकास र समृद्धिका लागि अधिकतम काम गर्दै आएको जानकारी दिए ।

नेपालले छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै नेता पाण्डेले चीनले नेपालका विभिन्न परियोजनामा गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानले नेपाली संसदीय प्रतिनिधि मण्डललाई आफ्नो प्रान्तमा स्वागत गर्न पाउँदा खुसी भएको बताइन् । उनले प्राचीनकालदेखि दुई मुलुकबीच आत्मीय सम्बन्ध रहेको बताउँदै कतिपय मुद्दाहरुमा दुवै देशका राष्ट्र प्रमुखहरुले साझा धारणा राख्दै आएको उल्लेख गरिन् ।

पाउच्वानले नेपाल विश्वकै खुसी इन्डेक्समा अग्रस्थानमा रहेको स्मरण गर्दै प्राकृतिकरुपमा नेपालको सौन्दर्यबाट चिनियाँ पर्यटकहरु खुसी भएर फर्किने गरेको बताइन् । 

संघीय संसदको २० सदस्यीय प्रतिनिधि मण्डल १० दिने चीन भ्रमणका लागि गत पुस २ गते बेइजिङ प्रस्थान गरेको थियो । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा रहेको २० सदस्यीय भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् । भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्कासहित तीन कर्मचारीसमेत सामेल छन् ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमी (आईबीओ) को कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । भ्रमण टोली नानजिङपछि मंगलबार नै कुइयाङ सहरका लागि प्रस्थान गर्दैछ ।

भ्रमण टोलीमा नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर बैरागी, मानबीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन् ।

भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् ।

संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

Logo