खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

काठमाडौं एक्सप्रेस

मोरङ, – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउने बताएका छन् । कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८१ को आज उद्घाटन गर्नुहुँदै उहाँले खेलकुदको माध्यमबाट मुलुकको नाम विश्वमा राख्न सकिने भएकाले खेल क्षेत्रको विकासका लागि काम गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले विराटनगर आसपास क्षेत्रमा जुनसुकै मौसममा पनि भलिबललगायत अन्य ‘इन्डोर खेल’का लागि खेलमैदान निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन दिए । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सरकारले खेलकुद पूर्वाधार, प्रशिक्षण र खेलाडीहरूको क्षमता वृद्धिका लागि विशेष ध्यान दिने बताए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १०औँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने तयारीस्वरूप प्रदेशका विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताए ।

महिला भलिबल प्रतियोगितामा कोशी, बागमती, मधेस र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

Logo