बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं एक्सप्रेस

साफ महिला च्याम्पियनसिप काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै उपाधि विजेता बंगलादेशका खेलाडी । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, १४ कात्तिक : नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।

खेलको ८१ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो ।

Logo